सरकारले मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र असुरक्षा अवस्थालाई ध्यानमा राख्दै खाडी मुलुकतर्फ जाने नेपाली कामदारका लागि श्रम स्वीकृति अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारी ले इजरायल–अमेरिका–इरानबीचको तनावका कारण सुरक्षा जोखिम बढेको उल्लेख गर्दै अर्को सूचना जारी नभएसम्म नयाँ श्रम स्वीकृति नदिइने जानकारी दिएका छन्।

वैदेशिक रोजगार विभाग ले हालसम्म खाडी मुलुकसहित विभिन्न देशका लागि श्रम स्वीकृति प्रदान गर्दै आएको थियो। तर इजरायल र अमेरिकाको इरानमाथि भएको आक्रमणपछि इरानले युएई, कतार, ओमान, कुवेतलगायत देशस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरी प्रतिक्रिया जनाएसँगै क्षेत्रीय सुरक्षा अवस्था जटिल बनेको छ।

सरकारले विमानस्थलमा रहेका कामदारलाई तत्कालका लागि घर फर्किन आग्रह गरेको छ भने २४ घण्टा सञ्चालन हुने कल सेन्टर तयारी अवस्थामा राखिएको जनाएको छ। आवश्यकता परे उद्धार योजना लागू गर्ने तयारीसमेत अघि बढाइएको मन्त्रालयले स्पष्ट पारेको छ।