रौतहट–४ को मतगणना : चर्चित पत्रकार ऋषि धमलालाई झट्का
२०८२ फाल्गुन २२, शुक्रबार १०:०७
राैटहट क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभा सदस्यतर्फ मतगणना जारी रहँदा प्रारम्भिक परिणामले रोचक संकेत देखाएको छ। हालसम्म गणना भएको ४ हजार ३६९ मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल १ हजार १०८ मतसहित अग्रस्थानमा छन्।
त्यसपछि नेपाली कांग्रेस (रुख) ले ५४६ मत प्राप्त गरेको छ भने नेकपा (तारा) ले ३०७ मत पाएको छ। नेकपा (एमाले) (सूर्य) भने ६९ मतमै सीमित देखिएको छ।
यसबीच चुनावी प्रचारका क्रममा निकै चर्चामा आएका पत्रकार ऋषि धमला को प्रदर्शन भने अपेक्षाभन्दा निकै कमजोर देखिएको छ। मोबाइल चुनाव चिह्न लिएर मैदानमा उत्रिएका धमलाले हालसम्म जम्मा ६ मत मात्र प्राप्त गरेका छन्।
अन्य स्वतन्त्र चिह्नहरूमध्ये छाता १२, हर्न १५ र माटो १ मत आएको छ। साथै ११६ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
हालसम्म गढीमाई नगरपालिका–९ इनरवाटोल धर्मशाला र गढीमाई नगरपालिका–१ समनपुरस्थित शंकर गुदुर माध्यमिक विद्यालय का मतदान केन्द्रको मतगणना सम्पन्न भइसकेको छ भने बाँकी केन्द्रहरूको मतगणना जारी रहेको छ।




