नयाँदिल्ली  , नेपालको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक परिणामले देशभित्र मात्र होइन, भारतका राजनीतिक विश्लेषक र मुख्यधाराका मिडियामा पनि व्यापक चर्चा पाएको छ। भारतीय विश्लेषकहरूले यो निर्वाचनलाई “नेपालको राजनीतिक प्रणालीमा ठूलो परिवर्तनको संकेत” भन्दै व्याख्या गरेका छन्।

भारतीय विश्लेषकहरूका अनुसार बालेन साह नेतृत्वको  रास्वपा को तीव्र उदयले दशकौँदेखि नेपाली राजनीतिमा प्रभुत्व जमाउँदै आएका परम्परागत दलहरूलाई ठूलो चुनौती दिएको छ। प्रारम्भिक मतगणनामा रास्वपाले धेरै क्षेत्रमा अग्रता लिएको र बालेन स्वयं झापा ५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा भन्दा उल्लेखनीय मतान्तरले अगाडि रहेको रिपोर्टहरूमा उल्लेख गरिएको छ।

भारतीय राजनीतिक विश्लेषकहरूले नेपालमा देखिएको यो लहरलाई “युवा विद्रोह” को परिणामका रूपमा व्याख्या गरेका छन्। उनीहरूका अनुसार बेरोजगारी, वैदेशिक रोजगारीमा अत्यधिक निर्भरता, र परम्परागत दलहरूमाथि लाग्दै आएका भ्रष्टाचारका आरोपका कारण नेपाली युवाहरू नयाँ राजनीतिक विकल्प खोज्न बाध्य भएका छन्।

भारतका केही रणनीतिक विश्लेषकहरूले भने नेपालमा नयाँ नेतृत्व उदाउनु भारत–नेपाल सम्बन्धका दृष्टिले पनि महत्त्वपूर्ण हुने बताएका छन्। उनीहरूका अनुसार नेपाल भूराजनीतिक रूपमा भारतीय  र चिन बीचको संवेदनशील क्षेत्रमा पर्ने भएकाले त्यहाँको राजनीतिक स्थिरता दुवै देशका लागि महत्त्वपूर्ण विषय हो।

विश्लेषणहरूमा उल्लेख गरिएअनुसार सन् २००८ पछि नेपालमा बारम्बार सरकार परिवर्तन हुँदै आएको छ। हालसम्म बनेका अधिकांश सरकारले पाँच वर्षे कार्यकाल पूरा गर्न नसक्दा राजनीतिक अस्थिरता बढ्दै गएको थियो। यही अस्थिरता र जनअसन्तुष्टिले नयाँ राजनीतिक शक्तिको उदयलाई बल दिएको भारतीय विश्लेषकहरूको निष्कर्ष छ।

भारतीय मिडियाले बालेन शाहलाई “युवा पुस्ताको प्रतिनिधि” र “स्थापित राजनीतिक संरचनालाई चुनौती दिने नेता” का रूपमा चित्रण गरेका छन्। यदि प्रारम्भिक परिणाम अन्तिमसम्म कायम रह्यो भने नेपालमा नयाँ राजनीतिक अध्याय सुरु हुने र दक्षिण एसियाली राजनीतिमा पनि यसको प्रभाव देखिन सक्ने उनीहरूको आकलन छ।

विश्लेषकहरूका अनुसार अबको मुख्य प्रश्न भनेको नयाँ नेतृत्वले जनअपेक्षा अनुसार सुशासन, रोजगारी र राजनीतिक स्थिरता दिन सक्छ कि सक्दैन भन्ने हो।

 नेपालको राजनीतिमा आएको यो परिवर्तनलाई दक्षिण एसियाली क्षेत्रकै महत्त्वपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको छ।