२७ वर्षपछि पाल्पा–१ मा कांग्रेसको ‘कमब्याक’: सन्दीप राना विजयी
२०८२ फाल्गुन २३, शनिबार २१:२६
पाल्पा । लामो समयसम्म एमालेको प्रभाव रहेको पाल्पा क्षेत्र नम्बर–१ मा यसपटक राजनीतिक समीकरण फेरिएको छ। नेपाली कांग्रेसका उम्मेदवार सन्दीप राना १८ हजार ३३६ मतसहित विजयी भएका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नारायणप्रसाद आचार्य ले १६ हजार ८१९ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका विमल पन्त ले १४ हजार ३३३ मत ल्याएका छन्।
यस क्षेत्रमा कुल ९८ हजार ३८३ मतदाता रहेकामा ५५.१२ प्रतिशत अर्थात् ५४ हजार २३० जनाले मतदान गरेका थिए।
पाल्पा–१ लाई लामो समयदेखि एमालेको ‘लाल किल्ला’ मानिँदै आएको थियो। २०५१ सालदेखि निरन्तर एमालेका उम्मेदवारहरू विजयी हुँदै आएका थिए। यसअघि २०७९ को निर्वाचनमा पनि एमालेका नारायणप्रसाद आचार्य ३१ हजार १०३ मतसहित निर्वाचित भएका थिए।
को हुन् सन्दीप राना?
नव–निर्वाचित सांसद सन्दीप राना लुम्बिनी प्रदेश सदस्य तथा कांग्रेस महासमिति सदस्य हुन्। उनी अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानका अध्यक्षसमेत हुन्। राजनीतिशास्त्रमा स्नातक गरेका राना हाल कानुनका विद्यार्थी पनि हुन्।
यसपटकको परिणामले पाल्पा–१ मा लामो समयदेखि कायम रहेको एमालेको पकड तोड्दै कांग्रेसलाई नयाँ राजनीतिक ऊर्जा दिएको छ।




