सुडानका दुई बजारमा ड्रोन आक्रमण : ३३ जनाको ज्यान गयो
२०८२ फाल्गुन २४, आईतवार १४:४९
सुडान ,अफ्रिकी राष्ट्र सुडानको दक्षिणपश्चिम क्षेत्रमा रहेका दुई बजारमा गरिएको ड्रोन आक्रमणमा कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।
स्थानीय स्रोतका अनुसार आक्रमण पश्चिम कोर्डोफान राज्यका अबु जाबाद र वाड बान्डा बजारमा भएको हो। यी क्षेत्रहरू विगत तीन वर्षदेखि सुडानी सेना र अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको भीषण द्वन्द्वको केन्द्र मानिन्छन्।
अबु जाबाद अस्पतालका एक चिकित्सकले शनिबार बजार क्षेत्रमा दुईवटा ड्रोन प्रहार भएको जानकारी दिँदै कम्तीमा ५९ जना घाइते भएको बताए। तीमध्ये करिब ३० जनाको अवस्था गम्भीर रहेकाले तत्काल उपचार भइरहेको उनले बताए।
स्थानीय बासिन्दा हमाद अब्दुल्लाले घटनामा आफ्ना चार आफन्तले ज्यान गुमाएको बताए। उनका अनुसार ती सबै बजारमा काम गरिरहेका बेला आक्रमण भएको थियो।
यता सैन्य स्रोतहरूले भने सर्वसाधारणलाई लक्षित गरिएको आरोप अस्वीकार गरेका छन्। उनीहरूको दाबी अनुसार आक्रमण विद्रोही समूह र उनीहरूको हतियार भण्डारलाई लक्षित गरेर गरिएको हो।
यस घटनापछि उक्त क्षेत्रमा त्रास बढेको छ भने सुडानको जारी द्वन्द्वले सर्वसाधारणको जनजीवन अझै जोखिममा परेको बताइएको छ।




