समानुपातिकतर्फ ‘रास्वपा आँधी’ — ५० लाख मत पार, पुराना दल धेरै पछाडि
२०८२ फाल्गुन २६, मंगलवार १२:१६
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व अग्रता कायम गर्दै ५० लाख मत पार गरेको छ। मंगलबार बिहान १०:४० बजेसम्म १ करोड ४ लाख १९ हजार २३४ मत गणना हुँदा रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको निर्वाचन आयोग ले जनाएको छ।
यो परिणामले रास्वपाको पक्षमा देखिएको जनलहरलाई अझ स्पष्ट बनाएको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ले १६ लाख ९२ हजार ८६ मत पाएको छ भने तेस्रो स्थानमा नेकपा (एमाले) १४ लाख ११ हजार ४२९ मतसहित रहेको छ।
त्यस्तै, चौथो स्थानमा नेपाल कम्युनिस्ट पार्टी ७ लाख ६६ हजार ८७५ मतसहित छ।
नयाँ शक्तिका रूपमा देखिएको श्रम संस्कृति पार्टी ले ३ लाख ५८ हजार ४१५ मत ल्याउँदै पाँचौँ स्थानमा उक्लिएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी ३ लाख २४ हजार ८८१ मतसहित छैटौँ स्थानमा छ।
हालको मतपरिणाम हेर्दा यी ६ दल राष्ट्रिय दल बन्ने लगभग निश्चित देखिएको छ।
समानुपातिकतर्फको यो परिणामले नेपालको राजनीतिक शक्ति सन्तुलनमा ठूलो परिवर्तनको संकेत दिएको विश्लेषकहरूको भनाइ छ।




