सुर्खेतमा विद्यार्थीहरू प्रदर्शन, इनिशा विकको हत्यामा न्यायको माग
२०८२ फाल्गुन २९, शुक्रबार १४:५०
सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै स्थानीय विद्यार्थीहरूले शुक्रबार वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन्।
विद्यार्थीहरूले “इनिशा विकलाई न्याय दे” र “बलात्कारीलाई फाँसी दे” जस्ता नारासहित प्लेकार्ड लिएर सडकमा प्रदर्शन गरेका थिए। उनीहरू नाराबाजी गर्दै जिल्ला प्रहरी कार्यालयसम्म पुगे र इनिशाको हत्यामा संलग्न अपराधीविरुद्ध कडा कारबाहीको माग गरे।
इनिशा वीरेन्द्रनगर–६, घण्टाघर नजिकको उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन्। प्रदर्शनमा उनका सहपाठी विद्यार्थीहरूका साथै वीरेन्द्रनगरका विभिन्न विद्यालयका विद्यार्थीहरू सहभागी थिए।
प्रहरीले घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।




