काठमाडौं । जापानमा हुने सन् २०२६ को एसियाली खेलकुदलाई लक्षित गर्दै सञ्चालन गरिएको विशेष प्रशिक्षण कार्यक्रम बजेट अभावका कारण स्थगित गरिएको छ।

 राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको ‘मिसन–२०२६’ अन्तर्गतको प्रशिक्षण खेलाडी र प्रशिक्षकलाई दिइने दैनिक ६ सय रुपैयाँ भत्ता उपलब्ध गराउन नसक्दा रोकिएको हो।

राखेपले गत माघ २९ गतेदेखि प्रशिक्षण अस्थायी रूपमा स्थगित गरेको जनाएको छ। यस कार्यक्रममा तेक्वान्दो, जुडो, उसु, बक्सिङ, एथलेटिक्स, महिला कबड्डी, महिला भलिबल, गल्फ, कुस्ती र कराते लगायत १२ खेलका करिब दुई सय खेलाडी तथा प्रशिक्षक सहभागी छन्।

राखेपका सदस्य सचिव रामचरित्र मेहताका अनुसार चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेट सकिएकाले केही समयका लागि प्रशिक्षण रोकिएको हो। उनका अनुसार थप बजेटको व्यवस्था गर्न पहल भइरहेको छ र चैत महिनाभित्र प्रशिक्षण पुनः सुरु गर्ने योजना रहेको छ।

राष्ट्रिय टिम तयारीका निर्देशक तथा ओलम्पियन दीपक विष्टले पदक जित्ने लक्ष्य पूरा गर्न प्रशिक्षण निरन्तर हुनुपर्ने बताएका छन्। उनले बजेट व्यवस्थापन गरी खेलाडीलाई छिट्टै प्रशिक्षणमा फर्काउन सरकारसँग आग्रह गरेका छन्।

मिसन–२०२६ अन्तर्गतको तयारीका लागि हालसम्म करिब ४ करोड रुपैयाँ खर्च भइसकेको अनुमान गरिएको छ। तर बीचमै प्रशिक्षण रोकिँदा खेलाडीको तयारी प्रभावित भएको र अहिलेसम्मको मेहनत खेर जाने जोखिम बढेको प्रशिक्षकहरूको भनाइ छ।

प्रशिक्षणमा सहभागी खेलाडीलाई सुरुमा दैनिक ३ सय रुपैयाँ भत्ता दिइँदै आएको थियो। पछि बढाएर ५ सय र गत भदौदेखि ६ सय रुपैयाँ पुर्‍याइएको थियो। तर खान र बस्ने सुविधा नभएकाले यो रकमले दैनिक खर्च धान्नसमेत कठिन हुने खेलाडीहरूको गुनासो छ।