दुबई उडान सहज, साउदी–कतार–कुवेत अझै अनिश्चित
२०८२ फाल्गुन २९, शुक्रबार १७:०७
काठमाडौं । खाडी मुलुकतर्फका उडान क्रमशः सामान्य बन्दै गएका छन्। संयुक्त अरब इमिरेट्स (यूएई) का गन्तव्यहरूमा उडान सहज हुँदै गएको भए पनि साउदी अरब, कतार र कुवेतका नियमित उडान अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन्।
संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा गरेको सैन्य हमलापछि खाडी क्षेत्रतर्फका केही उडान प्रभावित भएका थिए। त्यसको असर अझै केही गन्तव्यमा देखिएको विमानस्थल स्रोतले जनाएको छ।
पछिल्ला आठ दिनमा खाडी मुलुकतर्फ ५ हजार ६८० यात्रु ओहोरदोहोर गरेका छन्। ती यात्रुहरू मुख्यतः यूएईका दुबई र शारजाहबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आवत–जावत गर्ने उडानका हुन्।
अधिक श्रमिक जाने साउदी अरब, कतार र कुवेततर्फका उडान भने अझै पूर्ण रूपमा नियमित हुन सकेका छैनन्, जसले वैदेशिक रोजगारीका यात्रुलाई केही असहजता भएको बताइएको छ।




