काठमाडौं । समानुपातिकतर्फ सांसद पठाउन निर्वाचन आयोगले नाम मागेपछि नेपाली कांग्रेसभित्र अन्तिम छनोटको तयारी तीव्र बनेको छ। आयोगले कांग्रेसलाई समानुपातिक प्रणालीबाट २० सिट दिएको छ, जसमा १५ जना महिला अनिवार्य समेट्नुपर्ने व्यवस्था छ।

आयोगले तोकेको समावेशी मापदण्डअनुसार कांग्रेसले खस–आर्य, आदिवासी जनजाति, मधेसी, दलित, थारू र मुस्लिम समुदायबाट प्रतिनिधित्व गराउनुपर्नेछ। खस–आर्य र आदिवासी जनजातिबाट ६–६ जना, मधेसी र दलितबाट ३–३ जना, थारू र मुस्लिमबाट १–१ जना समेट्नुपर्नेछ।  साथै एक जना पिछडिएको क्षेत्रबाट पनि समावेश गर्नुपर्नेछ।

खस–आर्य महिलातर्फ सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती, सीता थपलियागंगा शाहीको सम्भावना बलियो देखिएको छ। पुरुषतर्फ बन्दसूचीको पहिलो नम्बरमा रहेका अर्जुननरसिंह केसीको सम्भावना अन्य क्लस्टरबाट आउने महिलाको संख्यामा निर्भर रहने बताइएको छ।

थारू कोटाबाट प्रमिलाकुमारी गच्छदार र मुस्लिम कोटाबाट शाहजान खातुन निर्वाचित हुने सम्भावना रहेको छ।

आदिवासी जनजातितर्फ गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ, रेनुका काउचा, सुनिताकुमारी सुवेदीभीष्मराज आङ्देम्बेको नाम चर्चामा छ।

पिछडिएको क्षेत्रबाट विद्यादेवी तिमिल्सिना, हजारी नेपाली वादी, भीमबहादुर तिरुवाताराबहादुर लामामध्ये एक जना छनोट हुने सम्भावना रहेको छ।

त्यस्तै मधेसी कोटाबाट निनुकुमारी कर्ण, रेखाकुमारी यादवचन्द्रमोहन यादवको सम्भावना रहेको छ। दलित कोटाबाट हरिनादेवी कामी, पवित्रा विकमानबहादुर नेपालीको नाम अगाडि आएको छ।

निर्वाचन आयोगले दलहरूलाई तीन दिनभित्र बन्दसूचीबाट अन्तिम नाम छनोट गरी पठाउन पत्राचार गरिसकेको छ। अब कांग्रेसले गर्ने निर्णयपछि समानुपातिक सांसदको अन्तिम सूची टुंगिनेछ।