टेम्के डाँडाको कथा अब चलचित्रमा — ‘टेम्केः द डेस्टिनेसन’ निर्माण सुरु
२०८२ चैत्र १, आईतवार ०७:५६
काठमाडौं । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ऐतिहासिक महत्व बोकेको खोटाङ–भोजपुरको संगमस्थल टेम्के डाँडा अब चलचित्रमार्फत विश्वसामु चिनिने भएको छ। सो क्षेत्रको नाममा आधारित चलचित्र ‘टेम्केः द डेस्टिनेसन’ निर्माण हुने भएको हो।
चलचित्रको शुक्रबार राजधानीस्थित भद्रकाली मन्दिरमा शुभमुहूर्त सम्पन्न गर्दै औपचारिक सुरुआत गरिएको छ। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मुहूर्त सट निर्देशन गर्दै क्ल्याप पड्काएर चलचित्रको यात्रा प्रारम्भ गरेका थिए।
यस चलचित्रमा चर्चित अभिनेता शिव श्रेष्ठ मुख्य भूमिकामा देखिनेछन्। निर्माण पक्षका अनुसार चलचित्रले पहाडी भूभागको पर्यटन सम्भावना, स्थानीय जीवनशैली र समाजको यथार्थ चित्रलाई कथामार्फत प्रस्तुत गर्नेछ।
समुद्री सतहबाट करिब २,९९५ मिटर उचाइमा रहेको टेम्के डाँडा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ऐतिहासिक महत्वका कारण चर्चित गन्तव्य मानिन्छ। मध्यपहाडी राजमार्गले छोएको यो क्षेत्रलाई केन्द्रमा राखेर चलचित्रको अधिकांश छायांकन गरिने बताइएको छ।
चलचित्रका निर्देशक देवप्रसाद धिमाल हुन्। उनका अनुसार फिल्मले टेम्के क्षेत्रका एक स्थानीय पात्रको संघर्षपूर्ण जीवनकथा र नेपाली समाजका यथार्थ घटनालाई समेट्ने प्रयास गर्नेछ।
निर्माण टिमका अनुसार आगामी चैतको दोस्रो साताबाट छायांकन सुरु गरिने तयारी गरिएको छ।
यस चलचित्रले टेम्के क्षेत्रको प्राकृतिक सुन्दरता र सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।




