पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ वृद्धि: जनताको ढाडमा फेरि भार, निर्णय फिर्ताको माग
२०८२ चैत्र २, सोमबार ०६:५७
काठमाडौं, चैत २ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आइतबार साँझ सार्वजनिक गरिएको निर्णयअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँ र डिजेल/मट्टीतेलको मूल्य १० रुपैयाँले बढाइएको हो । बढेको मूल्य सोमबार बिहानदेखि लागू भएको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा पुगेको छ । दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा १७१ रुपैयाँ तथा तेस्रो वर्गका काठमाडौं, पोखरा र दीपायलमा १७२ रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै डिजेल तथा मट्टीतेलको मूल्य पहिलो वर्गमा १४९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५१ रुपैयाँ र तेस्रो वर्गमा १५२ रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको निगमले जनाएको छ ।
निगमले अन्तर्राष्ट्रिय बजारको परिस्थितिलाई कारण देखाउँदै मूल्य बढाउनुपरेको दाबी गरेको छ । जारी विज्ञप्तिमा “विषम परिस्थितिका कारण बाध्यतावश मूल्य समायोजन गर्नुपरेको” उल्लेख गरिएको छ ।
तर निगमको निर्णयले सर्वसाधारणमा तीव्र असन्तोष पैदा गरेको छ । बजारमा महँगी चुलिएको अवस्थामा पेट्रोलियम पदार्थको मूल्य बढाइँदा यातायातदेखि दैनिक उपभोग्य वस्तुसम्मको मूल्य अझै बढ्ने निश्चितजस्तै भएको अर्थविद्हरू बताउँछन् ।
निगमसँग मूल्य स्थिरीकरण कोष हुँदाहुँदै पनि किन जनतामाथि बोझ थपियो भन्ने प्रश्न उठ्न थालेको छ । साथै पेट्रोलियम पदार्थको वास्तविक खरिद मूल्य, कर संरचना र लागत विवरण पारदर्शी रूपमा सार्वजनिक नगरेको भन्दै सरकार र निगममाथि आलोचना बढेको छ
आलोचकहरूले अन्तर्राष्ट्रिय बजारको नाममा हतारमा मूल्य बढाउने निर्णय गरिएको भन्दै तत्काल निर्णय फिर्ता गर्न सरकारसँग माग गरेका छन् ।
विशेषज्ञहरूका अनुसार पेट्रोलियम पदार्थको मूल्यवृद्धिले प्रत्यक्ष रूपमा यातायात खर्च बढाउने र त्यसको प्रभाव बजारका अधिकांश वस्तुमा पर्ने भएकाले महँगी झन् चर्किने खतरा रहेको छ ।
सरोकारवालाहरूले सरकारलाई जनताको ढाड सेक्ने निर्णय नगरी राहत दिने नीति ल्याउन आग्रह गरेका छन् । उनीहरू भन्छन्— “जनतालाई थप बोझ थोपर्ने होइन, पारदर्शिता र राहतको नीति आवश्यक छ।”




