दुबई, एजेन्सी, दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक सोमबार बिहान ड्रोन आक्रमण भएको आशङ्कापछि केही समयका लागि सबै उडान सेवा स्थगित गरिएको छ। यात्रु र कर्मचारीको सुरक्षालाई प्राथमिकता दिँदै अधिकारीहरूले उडान आवागमन अस्थायी रूपमा रोकिएको जानकारी दिएका छन्।

विमानस्थल नजिकै रहेको इन्धन भण्डारण ट्याङ्कीमा आगलागी भएको बताइएको छ। घटनापछि आपतकालीन उद्धार टोली तुरुन्तै घटनास्थलमा पुगेको थियो र आगो चाँडै नियन्त्रणमा लिइएको अधिकारीहरूले बताएका छन्।

 प्रारम्भिक विवरणअनुसार घटनामा मानवीय क्षति भएको छैन र ठूलो भौतिक क्षति पनि नभएको जनाइएको छ।

मध्यपूर्वमा जारी तनावपूर्ण युद्धको पृष्ठभूमिमा उक्त घटना भएको बताइएको छ। विभिन्न अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार इरानले संयुक्त अरब इमिरेट्सतर्फ ठूलो सङ्ख्यामा मिसाइल तथा ड्रोन प्रहार गरेको दाबी गरिएको छ। यद्यपि इमिरेट्सको वायु प्रतिरक्षा प्रणालीले अधिकांशलाई आकाशमै निष्क्रिय बनाएको जनाइएको छ।

उता छिमेकी साउदी अरबले पनि सोमबार बिहान आफ्नो पूर्वी क्षेत्रमा दर्जनौँ ड्रोन अवरोध गरेको जानकारी दिएको छ। यस घटनाले खाडी क्षेत्रमा सुरक्षा चुनौती थप चर्किएको संकेत गरेको विश्लेषण गरिएको छ।

दुबईको राष्ट्रिय हवाई सेवाले यात्रुहरूलाई तत्कालका लागि विमानस्थल नआउन आग्रह गरेको छ। सुरक्षा अवस्था सामान्य भएपछि मात्र नियमित उडान सञ्चालन गरिने जनाइएको छ। बिहान १० बजेदेखि सीमित उडान सेवा पुनः सञ्चालन गर्ने तयारी भइरहेको अधिकारीहरूले बताएका छन्।

यसैबीच, युद्ध सुरु भएयता संयुक्त अरब इमिरेट्समा चार जना सर्वसाधारण र दुई जना सैनिक गरी छ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ। सुरक्षा निकायले विमानस्थल, बन्दरगाह र ऊर्जा पूर्वाधारलाई लक्षित आक्रमणको जोखिम अझै कायम रहेको चेतावनी दिएका छन्।