काठमाडौं, चैत ९ ,रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। आइतबार महान्यायाधिवक्ताको कार्यालयले अदालतको निर्देशनअनुसार निर्णय संशोधनसम्बन्धी फाइल पेश गरेपछि आज त्यसमाथि बहस अघि बढाइएको हो।

न्यायाधीशद्वय सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ जारी रहेको छ।

यसअघि गत पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गरेपछि विवाद उत्पन्न भएको थियो। सो निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो।

पछि उक्त निर्णय संशोधन गर्दै सहकारी ठगीबाहेक अन्य अभियोग फिर्ता लिने निर्णय गरिएको थियो। प्रारम्भमा लामिछानेका हकमा मात्र संशोधन गरिएको भनिए पनि माघ २ गते सबै आरोपितका हकमा समेत संशोधन गर्ने निर्णय भएपछि विवाद थप चुलिएको थियो।

उक्त विवादकै सन्दर्भमा सर्वोच्चले फाइल माग गरी अहिले विस्तृत सुनुवाइ गरिरहेको हो।