मिथिलाञ्चलमा आजदेखि चैती छठको विधिवत् सुरुआत,
२०८२ चैत्र ९, सोमबार ०९:३९
जनकपुर , नेपालका तराई मधेस सहित नेपाल–भारतका सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा आजदेखि आस्था र श्रद्धाको महान् पर्व चैती छठ विधिवत् रूपमा सुरु भएको छ। चार दिनसम्म मनाइने यस पर्व तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत जिल्लामा धार्मिक विधिपूर्वक मनाइँदैछ।
तराई–मधेस क्षेत्रमा भने चैती छठको विशेष रौनक देखिएको छ। गाउँदेखि सहरसम्म छठ घाट सरसफाइ, सजावट र पूजा सामग्री तयारीमा स्थानीयहरू जुटेका छन्।
पोखरी, तलाउ, नदी र नहर किनारमा बिहान–बेलुका श्रद्धालुहरूको भीड बढ्न थालेको छ भने बजारमा फलफूल, पूजा सामग्री र प्रसादका सामग्रीको कारोबार पनि ह्वात्तै बढेको छ।
जनकपुर , जलेश्वर, मटिहानी, गौशाला, बर्दिबास , भारदह विराटनगर लगायत स्थानका जलाशय क्षेत्रमा विशेष चहलपहल देखिएको छ। बिग्ही, रातो मरहा, जङ्गहा, अंकुसीजस्ता नदी किनारमा आकर्षक छठ घाट तयार पारिएका छन्।
सूर्य उपासनामा आधारित यो पर्वको मुख्य विशेषता अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्नु हो। धार्मिक मान्यताअनुसार यसले पारिवारिक सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ दिलाउने विश्वास गरिन्छ।
आज पहिलो दिन ‘नहाय–खाय’ गरी व्रतीहरूले शुद्धीकरण गर्नेछन्। दोस्रो दिन ‘खर्ना’मा दिनभरि निराहार व्रत बसी राति विशेष पूजा गरी प्रसाद ग्रहण गरिन्छ। तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिन्छ भने अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै पर्व सम्पन्न गरिन्छ।
छठमा ठकुवा, भुसवा, खजुरिया, पेरुकियालगायत परिकार तथा विभिन्न फलफूल अर्पण गर्ने परम्परा छ। आर्थिक अवस्था कमजोर भएकाहरूले साधारण सामग्री चढाए पनि देवता प्रसन्न हुने जनविश्वास रहेको छ।
धार्मिक मात्र नभई सामाजिक सद्भावको प्रतीकका रूपमा स्थापित यस पर्व हिन्दूसँगै अन्य समुदायले पनि मिलेर मनाउने परम्परा रहेको छ।





