विराट टिचिङकी नर्स निशा मेहता अब स्वास्थ्य तथा जनसंख्या मन्त्री
२०८२ चैत्र १३, शुक्रबार १३:०४
काठमाडौं — बालेन शाह नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी निशा मेहताले पाएकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बनेकी मेहता पेशाले नर्स हुन्।
सुनसरीको इनरुवा निवासी मेहताले भारतको ग्वालियरबाट नर्सिङमा स्नातकोत्तर (MSc Nursing) गरेकी हुन्। राजनीतिमा आउनुअघि उनी विराटनगरस्थित विराट टिचिङ अस्पतालमा कार्यरत थिइन्। निर्वाचन आयोगबाट सांसदको प्रमाणपत्र प्राप्त गरेपछि मात्र उनले आफ्नो नर्सिङ पेशाबाट राजीनामा दिएकी हुन्।
रास्वपाको स्थापनाकालदेखि नै सक्रिय मेहता पार्टीकी केन्द्रीय सदस्यसमेत हुन्। मधेशी महिला कोटाबाट सांसद बनेकी उनी प्रहरी नायव उपरीक्षक (DSP) डा. सरोज सिंहकी पत्नी हुन्, जो हाल कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख छन्।
स्वास्थ्यमन्त्रीका लागि पार्टीभित्र अन्य चिकित्सक सांसदहरूको पनि चर्चा भए तापनि प्रधानमन्त्री बालेन शाह र सभापति रवि लामिछानेले मेहतालाई जिम्मेवारी दिने निर्णय गरेका हुन्।




