भारतमा ५ दिनलाई मात्रै तेल भण्डार:नेपालमा अभाव र महँगीको खतरा
२०८२ चैत्र १४, शनिबार १०:३९
काठमाडौं। भारत मा देखिएको रणनीतिक कच्चा तेल भण्डारणको कमजोर अवस्थाले यसको प्रत्यक्ष असर नेपाल मा पर्ने संकेत देखिएको छ।
आन्ध्र प्रदेश र कर्नाटकका तीन स्थानमा रहेको भण्डारण क्षमता ५.३३ मिलियन मेट्रिक टन भए पनि हाल ३.३७२ मिलियन मेट्रिक टन मात्रै भरिएको छ। यी भण्डारहरूको व्यवस्थापन भारतीय पेट्रोलियम रिर्जभ लि ले गर्दै आएको छ।
भारतमा मासिक करिब २० मिलियन मेट्रिक टन पेट्रोलियम खपत हुने भएकाले दैनिक औसत ०.६७ मिलियन मेट्रिक टन पुग्छ। यही आधारमा हेर्दा रणनीतिक भण्डार पाँच दिनमै सकिने आँकलन गरिएको हो।
नेपालले पेट्रोलियम पदार्थको आपूर्ति लगभग पूर्ण रूपमा भारतमै निर्भर रहेकाले छिमेकी देशमा कुनै पनि प्रकारको आपूर्ति संकट उत्पन्न हुँदा त्यसको प्रभाव नेपालमा तत्काल देखिने विश्लेषकहरू बताउँछन्।
यदि भारतमा इन्धन आपूर्ति घट्ने वा वितरणमा अवरोध आउने अवस्था सिर्जना भयो भने नेपालमा पेट्रोल, डिजेल र ग्यासको अभाव हुनसक्ने जोखिम बढ्छ। यस्तो अवस्थामा सर्वसाधारणबीच आत्तिएर किनमेल गर्ने प्रवृत्ति बढ्ने र बजारमा कृत्रिम अभावसमेत देखिन सक्छ।
इन्धन आपूर्ति प्रभावित हुँदा त्यसको पहिलो असर ढुवानी क्षेत्रमा पर्नेछ। सार्वजनिक यातायात, मालवाहक सवारीसाधन तथा अत्यावश्यक वस्तुको आपूर्ति प्रणालीमा अवरोध आउँदा दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढ्ने निश्चित देखिन्छ।
त्यसैगरी, उद्योग–कलकारखाना र निर्माण क्षेत्र पनि इन्धनमा निर्भर रहेकाले उत्पादनमा गिरावट आउने, रोजगारी प्रभावित हुने र समग्र अर्थतन्त्रमा दबाब बढ्ने खतरा रहन्छ।
ऊर्जा सुरक्षाको दृष्टिले नेपाल अझै संवेदनशील अवस्थामा रहेको विज्ञहरूको भनाइ छ। भारतजस्तो आयातमा निर्भर देशमा समस्या देखिँदा त्यसको प्रभाव स्वतः नेपालमा सर्ने भएकाले दीर्घकालीन वैकल्पिक ऊर्जा र भण्डारण प्रणालीमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ।
भारतको ऊर्जा संकट केवल त्यहाँको आन्तरिक विषय मात्र नभई नेपालजस्तो निर्भर अर्थतन्त्रका लागि चेतावनी संकेतसमेत बनेको छ।




