पतञ्जलि जग्गा प्रकरण : माधवकुमार नेपालसहित ९३ विरुद्ध मुद्दा, विशेष अदालतमा सुनुवाइ
२०८२ चैत्र १५, आईतवार १२:३८
काठमाडौं । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीसँग जोडिएको बहुचर्चित जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा सुरु भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त प्रकरणमा व्यापक अनियमितता भएको ठहर गर्दै जेठ २२ गते मुद्दा दायर गरेको थियो। आयोगले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना तथा सजाय माग गरेको छ।
मुद्दा विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा विचाराधीन छ। आरोपपत्रअनुसार, तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गर्दै सरकारी सार्वजनिक सम्पत्ति निजी तथा संस्थागत स्वार्थमा हस्तान्तरण गराएको दाबी गरिएको छ।
२०६६ साल फागुन ६ गतेको मन्त्रिपरिषद् निर्णय र त्यसअघि माघ १८ गतेको ठाडो आदेशमार्फत पतञ्जलिलाई कानुनी हदबन्दीभन्दा बढी जग्गा खरिद–बिक्री तथा सट्टापट्टाको अनुमति दिइएको उल्लेख छ। सो निर्णयका कारण ३१४ रोपनीभन्दा बढी जग्गा गैरकानुनी रूपमा कारोबार भएको अभियोग लगाइएको छ।
यस प्रकरणलाई हालका वर्षहरूको चर्चित भ्रष्टाचार मुद्दामध्ये एक मानिएको छ, जसको अन्तिम फैसला सार्वजनिक प्रशासन र राजनीतिक जिम्मेवारीको बहसमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।




