काठमाडौं । ली छियाङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई सन्देश पठाउँदै दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।

शनिबार पठाइएको सन्देशमा चिनियाँ प्रधानमन्त्री लीले नेपाल र चीनलाई परम्परागत रूपमा “पहाड र नदीले जोडिएका नजिकका छिमेकी” का रूपमा उल्लेख गरेका छन्। उनले ७१ वर्ष लामो कूटनीतिक सम्बन्धलाई अझ मजबुत बनाउँदै अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।

उनका अनुसार शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तका आधारमा चीन–नेपाल सम्बन्ध निरन्तर अघि बढ्दै आएको छ। साथै, चीनले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डतामा निरन्तर समर्थन रहने स्पष्ट पारेको छ।

सन्देशमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) लाई संयुक्त रूपमा अगाडि बढाउने र विभिन्न क्षेत्रमा उच्चस्तरीय सहकार्य विस्तार गर्ने चीनको तयारीसमेत व्यक्त गरिएको छ।

काठमाडौंस्थित चिनियाँ राजदूतावासका अनुसार चीन–नेपालबीचको मैत्रीपूर्ण रणनीतिक सहकारी साझेदारीलाई अझ गहिरो बनाउँदै विकास र समृद्धिमा सहकार्य गर्ने प्रतिबद्धता दोहोर्‍याइएको छ।