टोकियो । जापानमा नेपाली पाठ्यक्रमअनुसार अध्ययनरत विद्यार्थीहरूले यस वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागिता जनाएका छन्। एभरेष्ट इन्टरनेशनल स्कुल, जापानका छैटौँ ब्याचका २३ जना विद्यार्थी आजबाट सुरु भएको परीक्षामा सहभागी भएका हुन्।

विद्यालय प्रशासनका अनुसार परीक्षामा ९ जना छात्र र १४ जना छात्रा रहेका छन्। सन् २०२१ देखि निरन्तर रूपमा एसईईमा सहभागिता जनाउँदै आएको विद्यालयले विदेशमै बसेर नेपाली शिक्षा प्रणालीलाई निरन्तरता दिएको छ।

नेपाल सरकारबाट मान्यता प्राप्त यो विद्यालय जापानमा सञ्चालनमा रहेको एक मात्र नेपाली सरकारी उच्च माध्यमिक विद्यालय हो, जहाँ कक्षा १२ सम्म नेपाली पाठ्यक्रमअनुसार अध्ययन अध्यापन हुँदै आएको छ।

विद्यालयले जापानको शिक्षा मन्त्रालयका मापदण्डसँगै अन्तर्राष्ट्रिय शैक्षिक स्तरलाई समेत समेट्दै आफ्ना गतिविधि सञ्चालन गरिरहेको जनाएको छ। विदेशमा रहेर पनि मातृभूमिको शिक्षा प्रणालीसँग जोडिने प्रयासलाई यसले थप सशक्त बनाएको छ।