बुढीगंगा माेरङ,बुढीगंगामा सञ्चालित महालक्ष्मी सिल्लिकेट, महालक्ष्मी केबल, पाइनियर केवुल , सेन्चुरी मसला , स्वस्तिक आयल ,आरती स्ट्रिप्स र हिमगिरी साबुन उद्योग लगायत उद्योगवाट निस्किरहेको धुवाँ, दुर्गन्ध र खरानीले स्थानीय जनजीवन गम्भीर संकटमा परेको छ। दैनिक सास फेर्न कठिन हुने वातावरण, घरभित्रै पस्ने कालो धुलो र बढ्दो स्वास्थ्य समस्याले बासिन्दा त्रसित छन्।

यद्यपि, अनुगमन र नियन्त्रण गर्ने निकाय भने मौन देखिएका छन्। कानुनी रूपमा प्रदेश  वातावरण विभाग, स्थानीय तह र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका निकायले प्रदूषण नियन्त्रणको जिम्मेवारी वहन गर्नुपर्ने भए पनि व्यवहारमा प्रभावकारी कदम देखिएको छैन।

 वातावरणीय प्रभाव मूल्याङ्कन (EIA/IEE) कागजमै सीमित भएको आरोप स्थानीयको छ।

उद्योग सञ्चालनमा कडाइ देखाउने निकायहरू कार्यान्वयनमा निष्क्रिय देखिँदा राजनीतिक संरक्षण र आर्थिक चलखेलको आशंका पनि बढेको छ। जनस्वास्थ्यभन्दा माथि स्वार्थ हावी भएको भन्दै स्थानीय आक्रोशित बनेका छन्।

स्थिति चर्किँदै जाँदा स्थानीयले उद्योग गेटमा ताला लगाउने, उत्पादन बहिष्कार अभियान सुरु गर्ने र आवश्यकता परे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

यो केवल प्रदूषणको विषय होइन, राज्यको जवाफदेहितामाथिको गम्भीर परीक्षा हो। समयमै समाधान नखोजिए आजको धुवाँ भोलिको ठूलो संकट बन्ने संकेत देखिएको छ।