मध्यपूर्वमा बढ्दो तनावबीच डोनाल्ड ट्रम्पले दुई साताको युद्धविराम घोषणा गरेका छन्। इरान सँग सम्भावित ठूला सैन्य टकरावको ठीक अघि आएको यो निर्णयले विश्व राजनीतिमा नयाँ मोड ल्याएको छ।

यो निर्णय अचानक भएजस्तो देखिए पनि यसको पृष्ठभूमिमा कूटनीतिक पहल रहेको छ।पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेनाप्रमुख आसिम मुनीरको आग्रहपछि अन्तिम क्षणमा आक्रमण रोकिएको बताइएको छ। सर्तअनुसार रणनीतिक दृष्टिले अत्यन्त महत्वपूर्ण होर्मुज जलघाँटी पुनः खुला गरिनेछ।

इरानले पनि प्रारम्भिक सहमति जनाएको छ। उसका विदेशमन्त्री सैयद अब्बास अराघचीले आक्रमण रोकिए आफ्नो देशले पनि प्रतिरक्षात्मक गतिविधि स्थगित गर्ने बताएका छन्। यसले दुवै पक्ष तत्काल पूर्ण युद्धभन्दा टकराव टार्ने दिशामा उन्मुख देखिन्छन्।

तर मूल प्रश्न यथावत् छ—
यो वास्तवमै शान्तिको सुरुवात हो कि केवल युद्ध केही समयका लागि स्थगित गरिएको हो ?

यसअघि ट्रम्पले दिएको कडा चेतावनीले परिस्थिति कति गम्भीर थियो भन्ने स्पष्ट हुन्छ। त्यसैले यो युद्धविरामलाई धेरैले स्थायी समाधानभन्दा ‘अस्थायी विश्राम’ का रूपमा विश्लेषण गरिरहेका छन्।

यदि आगामी दुई साताभित्र प्रभावकारी वार्ता भयो भने दीर्घकालीन शान्तिको सम्भावना बढ्न सक्छ। अन्यथा, यो विरामपछि झन् ठूलो संकट उत्पन्न हुने जोखिम पनि उत्तिकै रहनेछ।