सरकारी ठेक्का प्रणाली ह्याक: ६ जना पक्राउ
२०८२ चैत्र २५, बुधबार २०:०६
काठमाडौं — सरकारी ठेक्का प्रणालीमै हस्तक्षेप भएको गम्भीर घटनामा ६ जना पक्राउ परेका छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयको इ–गभर्न्मेन्ट प्रोक्योरमेन्ट (e-GP) प्रणालीमा अनधिकृत पहुँच गरी ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोप उनीहरूमाथि लागेको हो।
प्रहरीका अनुसार आर्थिक प्रस्ताव खोलिनु अघि नै डकुमेन्ट परिवर्तन गरिएको उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो। सोही क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) र साइबर ब्यूरोको संयुक्त टोलीले विभिन्न स्थानबाट ६ जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा दिवाकर देउजा, भरत धामी, संजय भट्ट, भाष्करराज अर्याल, सागर कटुवाल र जीवनकुमार दास रहेका छन्।
उनीहरूले सरकारी प्रणालीमा अवैध प्रवेश गरी ठेक्का प्रक्रियामा चलखेल गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। हाल उनीहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत थप अनुसन्धान भइरहेको छ।
यस घटनाले सरकारी डिजिटल प्रणालीको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।




