ओली र लेखक हाजिरी जमानीमा रिहा हुने तयारी
२०८२ चैत्र २६, बिहीबार १०:३०
काठमाडौ ,पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई हाजिरी जमानीमा रिहा गर्ने तयारी गरिएको छ। सर्वोच्च अदालतको आदेशपछि उनीहरूलाई थप हिरासतमा राख्ने म्याद नथपिने संकेत देखिएको उच्च स्रोतले जनाएको छ।
सर्वोच्च अदालत ले सोमबार दिएको आदेशअनुसार आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई थुनामुक्त गर्न निर्देशन दिएको हो। न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेल को संयुक्त इजलासले अनुसन्धानको आधारमा थुनामा राखिरहनु आवश्यक नदेखिएको ठहर गरेको थियो।
अदालतले दिएको समयसीमाभित्र मुद्दा दायर नभएमा हाजिरी जमानीमा छाड्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ। यद्यपि, प्रहरी स्रोतका अनुसार अनुसन्धान अझै पूरा भएको छैन, तर अदालतको आदेशका कारण अब म्याद थप गर्न नमिल्ने अवस्था बनेको छ।
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ अनुसार हिरासतमा रहेका व्यक्तिलाई आवश्यक नदेखिएमा धरौटी, जमानत वा हाजिरी जमानीमा छाड्न सकिने कानुनी प्रावधान छ। सोही व्यवस्थाअनुसार ओली र लेखकलाई रिहा गर्ने तयारी गरिएको हो।
उनीहरू चैत १४ गते पक्राउ परेका थिए। भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएको मानवीय तथा आर्थिक क्षतिको जिम्मेवारी उनीहरूमाथि लगाइएको छ। सो घटनासम्बन्धी प्रतिवेदनमा उनीहरूमाथि गम्भीर कारबाही सिफारिस गरिएको छ।




