कांग्रेस आधिकारिकता विवाद : सर्वोच्चमा बहस जारी, निर्णय नजिक
२०८३ बैशाख ३, बिहीबार २१:४१
काठमाडौं, नेपाली कांग्रेस को आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा अन्तिम चरणतर्फ पुगेको छ। बिहीबार भएको सुनुवाइपछि अदालतले उक्त रिटलाई ‘हेर्दाहेर्दै’मा राख्दै शुक्रबारका लागि पुनः पेश गर्ने निर्णय गरेको छ।
सर्वोच्च अदालत मा न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा बहस भएको थियो। रिट निवेदकका रूपमा पूर्वसभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का रहेका छन्।
उनीहरूले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोग को निर्णयविरुद्ध रिट दायर गरेका हुन्। यसैबीच, मुद्दा विचाराधीन रहेकै अवस्थामा १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको भन्दै खड्काले पूरक निवेदनसमेत दिएका छन्।
हालसम्म देउवा पक्ष र निर्वाचन आयोगतर्फबाट सरकारी वकिलहरूले बहस सम्पन्न गरिसकेका छन्। शुक्रबार भने गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा पक्षका कानुन व्यवसायीले प्रतिरक्षा बहस गर्ने कार्यक्रम छ।
रिट निवेदक पक्षबाट जवाफी बहस सकिएपछि सम्भवतः सोही दिन अदालतले आदेश जारी गर्ने अपेक्षा गरिएको छ।
को–को वकिल बहसमा सहभागी ?
यस मुद्दामा वरिष्ठ अधिवक्ता रमेश बडाल, खम्मबहादुर खाती, शेरबहादुर केसी, गोविन्द बन्दी, ध्रुवलाल श्रेष्ठ, ईश्वरी भट्टराई, अरुण पौडेल र एगराज पोखरेललगायतले बहस गरेका छन्। गोविन्द बन्दी पूर्वमन्त्री तथा पूर्व महान्यायाधिवक्ता समेत हुन्।
कांग्रेसभित्रको नेतृत्व विवाद अब न्यायिक निष्कर्षको पर्खाइमा छ। शुक्रबारको सुनुवाइपछि आउने आदेशले पार्टीको आगामी राजनीतिक दिशा तय गर्ने देखिन्छ।




