काठमाडौँ, वैशाख ८, देशमा हाल पश्चिमी स्थानीय वायु र पूर्वी क्षेत्र नजिकको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। यसका कारण मौसममा आंशिक परिवर्तन आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मधेश, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई तथा उपत्यकामा अत्यधिक गर्मी बढ्ने सम्भावना रहेको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर चल्न सक्ने चेतावनी दिइएको छ।

कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य पहाडी भूभागमा पनि यस्तै अवस्था रहनेछ। हिमाली क्षेत्रमा भने केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

आज राति देशका अधिकांश पहाडी तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। तर कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना कायम रहनेछ।

मौसमविद्हरूले बढ्दो गर्मीका कारण आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। दिउँसोको समयमा बाहिर निस्कँदा घामबाट जोगिन, प्रशस्त पानी पिउन र बालबालिका तथा वृद्धको विशेष हेरचाह गर्न सुझाव दिइएको छ।