काठमाडौँमा ८ सय प्राथमिक उपचारक तयार, वडास्तरमै आपत व्यवस्थापन सुदृढ
२०८३ बैशाख १०, बिहीबार १५:०६
काठमाडौँ, काठमाडौँ महानगरपालिका ले समुदायस्तरमै आपतकालीन प्रतिक्रिया सुदृढ बनाउन ८ सय जना प्राथमिक उपचारक तयार गर्ने अभियान थालेको छ। नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखासँग सहकार्य गर्दै वडावडामा तालिम सञ्चालन भइरहेको छ।
महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार बदलिँदो जोखिम र घटनालाई ध्यानमा राख्दै स्थानीयस्तरमै तुरुन्तै प्रतिक्रिया दिन सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको हो। “घटना हुँदा प्रारम्भिक हस्तक्षेप गर्न सक्ने सीप अत्यन्त जरुरी छ,” उनले बताए।
स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसीले करदाताको रकम स्वास्थ्य सेवाको पहुँच र गुणस्तर बढाउन प्रयोग भइरहेको जानकारी दिए। तालिममा सहभागीहरूले दुर्घटना, चोटपटक, आकस्मिक बिरामी अवस्था जस्ता परिस्थितिमा अस्पताल पुर्याउनुअघि अवस्था स्थिर राख्ने सीप सिकिरहेका छन्।
तालिममा CPR (छाती थिच्ने र कृत्रिम श्वास दिने विधि), रक्तश्राव नियन्त्रण, हड्डी भाँचिएको पहिचान, जलन उपचार, विषालु जनावरको टोकाइ, डुबेको वा करेन्ट लागेको अवस्थामा उद्धारजस्ता व्यावहारिक अभ्यास समावेश छन्।
प्रशिक्षार्थीहरूले सुरुमा सामान्य लागे पनि तालिमपछि यसको महत्व बुझेको प्रतिक्रिया दिएका छन्। प्राप्त प्रमाणपत्र अन्तर्राष्ट्रिय रूपमा मान्य हुने बताइएको छ।
समुदायमै प्राथमिक उपचार सीप फैलाएर आपतकालीन अवस्थामा ज्यान जोगाउने र थप जोखिम कम गर्ने।




