धरान । लागू पदार्थ दुर्व्यसनबाट प्रभावित युवाहरूलाई नयाँ जीवनतर्फ उन्मुख गराउने उद्देश्यले धरानमा योग तथा प्रेरणामूलक तालिम कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भएको छ।

धरान जेसीज २०२६ को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सुधार गृहमा रहेका ४० जना युवाको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रम सुधार गृहका सञ्चालक अग्नि प्रसाई को सहयोगमा सम्पन्न भएको हो।

योग प्रशिक्षण सत्रमा पतञ्जली योग समिति धरान का अध्यक्ष सुमन मान स्थापित सहित उपाध्यक्ष रणजीत शाह, कोषाध्यक्ष उषा श्रेष्ठ, सदस्य शर्मिला भुजेल, सल्लाहकार मेनुका स्थापित तथा सदस्य सम्झना बस्नेत को उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन महासचिव रीमा थापा मगर ले गरेकी थिइन्। योग अभ्यासपछि सञ्चालन गरिएको मोटिभेशन सत्रमा प्रमुख प्रशिक्षक मोहन श्रेष्ठ ले सहभागी युवाहरूलाई सकारात्मक सोच, आत्मविश्वास र अनुशासनबारे प्रशिक्षण दिएका थिए। कार्यक्रमको समग्र संयोजन  तालिम निर्देशक शर्मिला राईले सम्हालेकी थिइन्।

यस अवसरमा अध्यक्ष सागर प्रसाई ले यस्ता तालिमले दुर्व्यसनमा फसेका युवालाई सही दिशामा फर्काई समाजमा पुनःस्थापना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रमले सहभागी युवामा आशा, अनुशासन र सकारात्मक सोचको विकास गर्दै नयाँ सुरुवातको बाटो खोल्ने अपेक्षा गरिएको छ।