एलन मस्कको नयाँ कदम: ‘एक्सच्याट’ मार्फत छुट्टै मेसेजिङ प्लेटफर्म सार्वजनिक
२०८३ बैशाख १३, आईतवार १८:३७
काठमाडौँ । एलन मस्क नेतृत्वको सामाजिक सञ्जाल कम्पनी X (formerly Twitter) ले मेसेजिङ सेवामा नयाँ आयाम थप्दै ‘एक्सच्याट (XChat)’ नामक छुट्टै एप सार्वजनिक गरेको छ। हाल यो एप आईओएस प्रयोगकर्ताका लागि मात्रै उपलब्ध गराइएको छ भने एन्ड्रोइड संस्करण कहिले आउने भन्नेबारे स्पष्ट जानकारी दिइएको छैन।
नयाँ एपमार्फत प्रयोगकर्ताले आफ्ना एक्स कन्ट्याक्टहरूसँग सहज रूपमा च्याट, अडियो तथा भिडिओ कल, फाइल शेयर र ग्रुप कुराकानी गर्न सक्नेछन्। कम्पनीले यसअघि सीमित प्रयोगकर्तामाझ यसको परीक्षण (बेटा) गरिसकेको थियो।
‘एक्सच्याट’लाई कम्पनीको दीर्घकालीन रणनीतिक योजनाको महत्त्वपूर्ण हिस्सा मानिएको छ। X ले सामाजिक सञ्जाललाई केवल पोस्ट र कन्टेन्टमा सीमित नराखी मेसेजिङ र डिजिटल पेमेन्ट जस्ता सेवाको केन्द्र बनाउने लक्ष्य लिएको छ। यसै सन्दर्भमा छुट्टै भुक्तानी एपको परीक्षणसमेत भइरहेको जनाइएको छ।
यसअघि ‘एभ्रिथिङ एप’ को अवधारणा अघि सारेका मस्कले अहिले भने विभिन्न सेवा छुट्टाछुट्टै एपमार्फत उपलब्ध गराउने रणनीतिमा मोडिएका छन्। xAI मार्फत प्रयोगकर्तालाई बहुआयामिक सेवा दिने योजना अघि बढाइएको छ।
सुरक्षाका हिसाबले ‘एक्सच्याट’मा इन्ड-टु-एन्ड इन्क्रिप्सन, पिन सुरक्षा, मेसेज एडिट तथा डिलेट, डिसअपेरिङ मेसेज र स्क्रिनशट ब्लक गर्ने सुविधा समावेश गरिएको कम्पनीको दाबी छ। साथै, कुनै विज्ञापन वा प्रयोगकर्ता ट्र्याकिङ नगर्ने बताइएको छ।
तर, सुरक्षा विज्ञहरूले यसअघि नै यस्ता दाबीमाथि प्रश्न उठाउँदै Signal जस्ता एपको तुलनामा कम सुरक्षित हुन सक्ने चेतावनी दिएका छन्। एप व्यापक प्रयोगमा आएपछि यसको वास्तविक सुरक्षास्तरबारे पुनः मूल्याङ्कन हुने अपेक्षा गरिएको छ।
नयाँ एपले एक्सको ‘कम्युनिटिज’ फिचरलाई पनि समेट्नेछ, जुन मुख्य प्लेटफर्ममा घट्दो प्रयोग र स्पामको कारण हटाइएको थियो। यस कदमले प्रारम्भिक प्रयोगकर्ता संख्या बढाउने अपेक्षा गरिएको कम्पनीको विश्वास छ।
कम्पनीका प्रमुख डिजाइनरका अनुसार यो सुरुवात मात्र हो र आगामी दिनमा ‘एक्सच्याट’मा थप उन्नत फिचरहरू समावेश गरिने योजना रहेको छ।




