मालीमा आइतबार भएको श्रृंखलाबद्ध सशस्त्र आक्रमणमा रक्षा मन्त्री साडियो क्यामाराको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजीराले जनाएको छ।

राजधानी बामाको नजिकैको कडा सुरक्षा व्यवस्था रहेको काती सैनिक क्षेत्रमा रहेको क्यामाराको निवासमा आत्मघाती कार बम आक्रमण भएपछि उनको ज्यान गएको बताइएको छ। काती क्षेत्र बामाकोबाट करिब १५ किलोमिटर दूरीमा पर्छ, जहाँ अन्तरिम राष्ट्रपति आसिमी गोइटा पनि बसोबास गर्छन्।

आक्रमण जमायते नुसरत अल-इस्लाम वाल-मुस्लिम (JNIM) र अजवाद लिबरेशन फ्रन्ट (FLA)का लडाकुहरूले संयुक्त रूपमा गरेको जनाइएको छ। यी समूहहरूले देशका विभिन्न सैन्य र रणनीतिक स्थानहरूलाई लक्षित गर्दै व्यापक आक्रमण गरेका छन्।

क्यामारा सन् २०२० र २०२१ मा भएका सैन्य कू पछि बनेको सरकारका प्रभावशाली पात्र थिए। उनलाई भावी नेतृत्वका रूपमा समेत हेरिँदै आएको थियो।

उता, राष्ट्रपति गोइटा भने सुरक्षित रहेको र उनलाई तत्कालै सुरक्षित स्थानमा सारिएको बताइएको छ।

यसैबीच, बामाकोसहित गाओ, किडाल र सेभारे क्षेत्रमा समेत आक्रमण जारी रहेको छ। किडालमा लगातार गोलीबारी र विस्फोटका आवाजहरू सुनिएको स्थानीयले बताएका छन्। २४ घण्टाभन्दा बढी समय बितिसक्दा पनि स्थिति नियन्त्रणबाहिर नै रहेको छ।

विश्लेषकहरूका अनुसार, विभिन्न विद्रोही समूहहरू अहिले साझा शत्रुका रूपमा माली सरकारविरुद्ध एकजुट भएका छन्, जसले आगामी दिनमा थप हिंसात्मक द्वन्द्व निम्त्याउन सक्ने संकेत देखिएको छ।

यस घटनाको अफ्रिकन युनियन, अर्गनाइजेशन अफ इस्लामिक को-अपरेसन र अमेरिकी विदेश मन्त्रालयले कडा शब्दमा निन्दा गरेका छन्।