पश्चिम बंगालमा भाजपाको नयाँ अध्याय : शुभेन्दु अधिकारी बने पहिलो मुख्यमन्त्री
२०८३ बैशाख २६, शनिबार ०९:२४
सिलगुडी ,भारतको राजनीति फेरि एकपटक चर्चामा छ। नेपालसँग सीमा जोडिएको भारतीय राज्य पश्चिम बंगाल मा भारतीय जनता पार्टी (भाजपा) ले ऐतिहासिक सफलता हासिल गर्दै पहिलोपटक सरकार गठन गर्ने भएको छ। यससँगै भाजपा नेता शुभेन्दु अधिकारी राज्यको पहिलो भाजपामुख्यमन्त्री बन्ने निश्चित भएका छन्।
भवानीपुर निर्वाचन क्षेत्रबाट ममता बनर्जी लाई पराजित गर्दै चर्चामा आएका अधिकारीलाई भाजपा विधानमण्डल दलको नेतामा चयन गरिएको हो। कोलकातामा आयोजित बैठकमा भारतीय गृहमन्त्री अमित शाह ले उनको नाम औपचारिक रूपमा घोषणा गरे।
भाजपाले २९४ सदस्यीय विधानसभा मध्ये २०७ सिट जित्दै लामो समयदेखि सत्तामा रहेको तृणमूल कांग्रेसको १५ वर्षे शासन अन्त्य गरेको छ। यो परिणामलाई पश्चिम बंगालको राजनीतिक इतिहासमै ठूलो परिवर्तनका रूपमा हेरिएको छ।
कुनै समय ममता बनर्जीका विश्वासपात्र मानिएका शुभेन्दु अधिकारीले सन् २०२० मा तृणमूल कांग्रेस छोडेर भाजपा प्रवेश गरेका थिए। त्यसपछि उनी बंगाल राजनीतिमा भाजपा विस्तारको मुख्य अनुहार बने।
मुख्यमन्त्री घोषणा कार्यक्रममा अमित शाहले कांग्रेसमाथि पनि तीखा टिप्पणी गरे। उनले बारम्बार निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउने प्रवृत्तिको आलोचना गर्दै हारको समीक्षा गर्न सुझाव दिए। शाहले विगतका विभिन्न राज्य चुनावको उदाहरण दिँदै “सबै हारलाई भोट चोरी भन्न मिल्दैन” भन्ने सन्देश दिएका थिए।
राजनीतिक विश्लेषकहरूले पश्चिम बंगालमा भाजपाको यो उदयलाई राष्ट्रिय राजनीतिमा समेत महत्वपूर्ण मोडका रूपमा हेरेका छन्। विशेषतः पूर्वी भारतमा भाजपा प्रभाव विस्तारको रणनीतिमा यो जितलाई निर्णायक उपलब्धि मानिएको छ।




