जोगबनी नाकामा कडा सुरक्षा जाँच, रोहिंग्या प्रवेश आशंकाबीच प्रशासन सतर्क
२०८३ बैशाख २७, आईतवार १३:२४
विराटनगर । भारतको पश्चिम बंगाल राज्यमा विधानसभा चुनावपछि रोहिंग्या शरणार्थी र अवैध बंगलादेशी नागरिकलाई निष्कासन गरिने भन्ने हल्ला फैलिएसँगै नेपाल–भारत सीमावर्ती जोगबनी नाकामा सुरक्षा कडाइ गरिएको छ।
सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएका यस्ता दाबीपछि मोरङ प्रशासनले सीमा क्षेत्रमा निगरानी बढाएको जनाएको छ। अहिले जोगबनी नाकाबाट नेपाल प्रवेश वा बाहिरिने सबै व्यक्तिलाई परिचयपत्र अनिवार्य गरिएको छ। परिचय खुल्ने कागजात देखाउनेलाई मात्र आवतजावत अनुमति दिइएको सुरक्षा निकायले जनाएको छ।
प्रशासनका अनुसार पश्चिम बंगालको माल्दा क्षेत्रदेखि विराटनगरको रानी–जोगबनी नाकासम्म रेलमार्गमार्फत आउने यात्रुहरूको आवागमन पनि निगरानीमा राखिएको छ। विशेषगरी कलकत्ता–जोगबनी रेल सेवा सञ्चालन हुने दिनहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त चेकजाँच कडा बनाएका छन्।
सुरक्षा अधिकारीहरूले भने नेपालमा ठूलो संख्यामा रोहिंग्या प्रवेश गर्ने अवस्था नभएको र अहिले फैलिएको चर्चा धेरै हदसम्म अफवाहमा आधारित रहेको स्पष्ट पारेका छन्।
यसैबीच, भारततर्फका केही सीमावर्ती नाकामा पनि लामो समयदेखि परिचयपत्र जाँच कडा बनाइएको छ। पछिल्ला दिनमा सामाजिक सञ्जालमा फैलिएका “घुसपैठिया निष्कासन” सम्बन्धी भिडियोहरू अधिकांश पुराना वा असम्बन्धित भएको तथ्य–जाँचकर्ताहरूले पुष्टि गरेका छन्।
भारतीय राजनीतिमा अवैध घुसपैठको विषय चुनावी मुद्दा बने पनि हालसम्म ठूलो संख्यामा निष्कासन गरिएको कुनै आधिकारिक पुष्टि भने सार्वजनिक भएको छैन।




