गुगलले भिडियो बनाउने नयाँ एआई ‘जेमिनाई ओम्नी’ सार्वजनिक गर्यो
२०८३ जेष्ठ ६, बुधबार १३:५५आफ्नै अवतार र आवाजमा भिडियो बनाउन मिल्ने

काठमाडौँ । गुगलले भिडियो निर्माण र सम्पादनका लागि नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) प्रणाली ‘जेमिनाई ओम्नी’ सार्वजनिक गरेको छ। मंगलबार सार्वजनिक गरिएको यो प्रणालीको पहिलो संस्करण ‘जेमिनाई ओम्नी फ्ल्यास’ अहिले प्रयोगकर्ताका लागि उपलब्ध छ।
यो एआईले टेक्स्ट, फोटो, अडियो र भिडियो जस्ता विभिन्न इनपुटलाई संयोजन गरेर भिडियो बनाउन सक्छ। प्रयोगकर्ताले साधारण कुराकानीमार्फत नै भिडियो सम्पादन गर्न सक्ने सुविधा पनि यसमा समावेश गरिएको छ।
गुगलका अनुसार, यसले छोटा निर्देशनबाटै व्याख्यात्मक तथा आकर्षक भिडियो तयार गर्न सक्छ। साथै, भविष्यमा आफ्नै अवतार र आवाज प्रयोग गरेर भिडियो बनाउने सुविधा पनि विस्तार गर्ने योजना छ।
हाल यो सेवा गुगल एआई प्लस, प्रो र अल्ट्रा प्रयोगकर्ताका लागि उपलब्ध छ। युट्युब सर्ट्स र युट्युब क्रिएट एपमार्फत केही सुविधा निःशुल्क प्रयोग गर्न सकिने बताइएको छ।
कम्पनीले यसलाई अझ विकसित गर्दै अडियो र भिडियो सम्पादन क्षमतामा थप सुधार गर्ने तयारी गरिरहेको छ।




