भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीशले बेरोजगार युवालाई ‘कक्रोच’ भनेपछि सामाजिक सञ्जालमा सुरु भएको व्यङ्ग्य अहिले डिजिटल आन्दोलनमा बदलिएको छ।

‘कक्रोच जनता पार्टी’ नामको यो अभियानले केही दिनमै लाखौं युवाको समर्थन बटुलेको छ। बेरोजगारी, पेपर लिक, संस्थागत अहंकार र युवामाथिको अपमानविरुद्ध सुरु भएको यो भर्चुअल विद्रोह अहिले भारतीय राजनीतिक बहसको केन्द्र बनेको छ।

३० वर्षीय अभिजित दीपकेले सुरु गरेको यो अभियान तीन दिनमै १ लाखभन्दा बढी सदस्यसहित चर्चाको शिखरमा पुग्यो। इन्स्टाग्राममा करोडभन्दा बढी फलोअर्स जोडिएपछि यसलाई भारतका स्थापित दलहरूले समेत गम्भीर रूपमा लिन थालेका छन्।

व्यङ्ग्य, मिम्स, गीत र डिजिटल नारामार्फत युवाहरूले आफ्नो असन्तुष्टि पोखिरहेका छन्। “हामीलाई कीरा ठानियो, अब हामी आवाज बन्छौं” भन्ने भावनाले आन्दोलनलाई थप बल दिएको देखिन्छ।

यो केवल सामाजिक सञ्जालको ट्रेन्ड होइन, युवाको निराशा, आक्रोश र सम्मानको लडाइँको नयाँ डिजिटल रूप पनि हो।