बुढीगंगा पालिका अस्पतालको आकस्मिक निरीक्षणमा स्वास्थ्य मन्त्री लिम्बू
२०८३ जेष्ठ १०, आईतवार १६:५८“पालिका स्तरमै नमुना योग्य अस्पताल” भन्दै प्रदेश सरकारको सहयोग रहने प्रतिबद्धता

बिराटपाटी अनलाइन बुढीगंगा, मोरङ । आइतबार विहान कोशी प्रदेशका स्वास्थ्य मन्त्री माननीय मानबहादुर लिम्बू ले बुढीगंगा पालिका अस्पताल बासवारीको आकस्मिक अनुगमन गर्नुभएको छ।
अस्पतालको सेवा प्रवाह, व्यवस्थापन अवस्था तथा स्वास्थ्य पूर्वाधारको स्थलगत निरीक्षणपछि मन्त्री लिम्बूले पालिका स्तरमा सञ्चालन भइरहेका अस्पतालमध्ये बुढीगंगा पालिका अस्पताल प्रदेश कै उदाहरणीय र नमुना योग्य रहेको प्रतिक्रिया दिनुभयो।
निरीक्षणका क्रममा उहाँले प्रदेशका विभिन्न अस्पतालको अवस्था अध्ययन गर्दा सीमित स्रोतसाधनका बाबजुद पनि यस अस्पतालले प्रभावकारी सेवा प्रवाह गरिरहेको उल्लेख गर्दै आगामी दिनमा थप गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो।
अनुगमनका क्रममा बुढीगंगा गाउँ पालिका अध्यक्ष जितनारायण थापा मगर, अस्पताल समितिका उपाध्यक्ष दर्शनराज न्यौपाने,अस्पताल प्रमुख डा सुरज थापा मगर लगायत अस्पतालका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
सो अवसरमा गाउँपालिका अध्यक्ष थापा मगरले अस्पतालको स्तरवृद्धि, सेवा विस्तार, दक्ष जनशक्ति व्यवस्थापन तथा आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारको थप सहयोग आवश्यक रहेको विषय मन्त्रीसमक्ष राख्नुभएको थियो।





