काठमाडौं । युरोपेली युनियन (ईयू) का २२ देशका राजदूत तथा नियोग उपप्रमुखहरूको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको छ । 

नेपालका लागि ईयू राजदूत भेरोनिक लोरेन्जो को नेतृत्वमा आएको टोलीले नयाँ सरकारसँग सम्बन्ध सुदृढ गर्ने, विकास सहकार्यलाई अगाडि बढाउने तथा व्यापार–लगानीका नयाँ सम्भावनाबारे छलफल गर्ने जनाएको छ ।

दुईदिने भ्रमण कार्यक्रमअन्तर्गत प्रतिनिधिमण्डलले सोमबार विभिन्न मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेको छ । परराष्ट्रमन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसँगको भेटमा नेपाल–ईयू सम्बन्ध, विकास सहकार्य, शिक्षा, पर्यटन र जलवायुका विषयमा कुराकानी भएको जनाइएको छ ।

मंगलबार बिहान सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाह  सँग सामूहिक शिष्टाचार भेट तय गरिएको छ । उक्त भेटलाई नेपाल र युरोपेली मुलुकबीचको कूटनीतिक सम्बन्ध थप मजबुत बनाउने अवसरका रूपमा हेरिएको छ ।

नेपाल भ्रमणमा आएका प्रतिनिधिमण्डलमा अस्ट्रिया, फ्रान्स, जर्मनी, इटाली, स्पेन, स्वीडेन, पोल्यान्ड, नेदरल्यान्ड्सलगायत २२ युरोपेली देशका आवासीय तथा गैरआवासीय राजदूत सहभागी छन् । उनीहरूले निजी क्षेत्र, नागरिक समाज र युवा नेतृत्वसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

ईयूले नेपालसँगको साझेदारीलाई अझ प्रभावकारी र दीर्घकालीन बनाउन चाहेको संकेत दिएको छ । “नेपालको विकास प्राथमिकतामा हाम्रो निरन्तर साथ रहनेछ,” ईयू प्रतिनिधिमण्डलले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

विशेषगरी जलवायु परिवर्तन, हरित ऊर्जा, पूर्वाधार, शिक्षा, व्यापार र लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयलाई भ्रमणको मुख्य एजेन्डा मानिएको छ ।