लगातार दोस्रो पटक फाइनलमा आरसिबी, गुजरात ९२ रनले पराजित
२०८३ जेष्ठ १३, बुधबार ०९:००
इन्डियन प्रिमियर लिग (आईपीएल) मा साविक विजेता रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) ले शानदार प्रदर्शन गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको छ। क्वालिफायर खेलमा गुजरात टाइटन्सलाई ९२ रनको फराकिलो अन्तरले हराउँदै आरसिबी उपाधि रक्षा नजिक पुगेको हो।
पहिले ब्याटिङ गरेको आरसिबीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २५४ रनको विशाल योगफल तयार गरेको थियो। कप्तान रजत पाटीदारको विस्फोटक ब्याटिङ, विराट कोहलीको संयमित इनिङ्स र अन्तिम ओभरमा तीव्र रन वर्षाले बैंगलोरलाई बलियो स्थितिमा पुर्यायो।
जवाफमा गुजरातको सुरुआत नै कमजोर रह्यो। पावरप्लेभित्रै पाँच विकेट गुमाएको टोली दबाबबाट बाहिर निस्कन सकेन। राहुल तेवतियाले संघर्षपूर्ण अर्धशतक बनाए पनि गुजरात १९.३ ओभरमै १६२ रनमा समेटियो।
आरसिबीका लागि ज्याकब डफीले तीन विकेट लिए भने भुवनेश्वर कुमार, रासिख सलाम डार र क्रुणाल पाण्ड्याले समान दुई-दुई विकेट हात पारे।
यस जितसँगै आरसिबी पाँचौँ पटक आईपीएल फाइनलमा पुगेको छ। टोलीले यसअघि २००९, २०११, २०१६ र २०२५ मा पनि फाइनल खेलेको थियो। गत सिजन उपाधि जितेको आरसिबी यसपटक लगातार दोस्रो ट्रफी उचाल्ने लक्ष्यमा छ।
पराजित गुजरातसँग भने अझै फाइनल पुग्ने अर्को अवसर बाँकी छ। अब गुजरातले क्वालिफायर–२ मा हैदराबाद र राजस्थानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।




