नयाँदिल्ली ,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गरेका छन्। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भएको भनिएको यो भ्रमण सामान्य राजनीतिक भेटघाटभन्दा बढी अर्थ बोकेको रूपमा हेरिन थालेको छ।

नेपालको राजनीतिमा पछिल्लो समय तीव्र उतारचढावबीच भइरहेको यो भ्रमणले विभिन्न प्रश्न जन्माएको छ। विशेषगरी सरकार बाहिर रहेको रास्वपा तथा त्यसका सभापति लामिछानेका लागि भारतीय राजनीतिक नेतृत्वसँगको संवादले भविष्यको राजनीतिक दिशा, क्षेत्रीय सम्बन्ध र कूटनीतिक सन्तुलनबारे नयाँ बहस सिर्जना गरेको छ।

भ्रमणका क्रममा लामिछानेले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ। साथै भारतमा बसोबास गर्ने नेपाली समुदायसँग पनि अन्तरक्रिया गर्ने कार्यसूची छ। टोलीमा उनकी पत्नी निकिता पौडेल, सहमहामन्त्री तथा सांसद विपिनकुमार आचार्य, सांसद दीपक बोहोरा र सचिवालय सदस्य अविनाश आचार्य सहभागी छन्।

नेपाल–भारत सम्बन्ध सधैं संवेदनशील विषय रहँदै आएको छ। त्यसैले कुनै पनि प्रमुख नेपाली राजनीतिक नेताको भारत भ्रमणलाई केवल औपचारिक कार्यक्रमका रूपमा मात्र हेरिँदैन। विशेष गरी पछिल्लो समय सीमा, व्यापार, ऊर्जा, कनेक्टिभिटी र क्षेत्रीय रणनीतिका विषयमा बहस चलिरहेका बेला लामिछानेको दिल्ली यात्रा अर्थपूर्ण देखिएको छ।

रास्वपाले आफूलाई परम्परागत राजनीतिक संस्कृतिको विकल्पका रूपमा प्रस्तुत गर्दै आएको छ। तर अन्तर्राष्ट्रिय सम्बन्ध र छिमेकीसँगको राजनीतिक संवादमा उसको दृष्टिकोण कस्तो छ भन्ने प्रश्नको उत्तर पनि यस्ता भ्रमणले दिने गर्छन्। दिल्लीमा हुने भेटवार्ताले रास्वपाको कूटनीतिक सोच, क्षेत्रीय सम्बन्धप्रतिको दृष्टिकोण र भविष्यको राजनीतिक मार्गचित्रबारे संकेत दिन सक्ने विश्लेषकहरूको भनाइ छ।

अहिलेसम्म भ्रमणलाई औपचारिक र सद्भावनात्मक भनिए पनि यसको वास्तविक राजनीतिक सन्देश भने भेटवार्ता र त्यसपछिका अभिव्यक्तिबाट मात्र स्पष्ट हुनेछ। पाँच दिनपछि काठमाडौं फर्किने लामिछानेले दिल्लीबाट के सन्देश लिएर आउँछन् भन्ने विषय अहिले राजनीतिक वृत्तको चासो बनेको छ।