विश्वकपमा ब्राजिल र मोरक्कोको रोमाञ्चक बराबरी, भिनिसियसले बचाए ब्राजिल
२०८३ जेष्ठ ३१, आईतवार ०६:०७
न्यु जर्सी । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिल र मोरक्कोले १–१ गोलको बराबरी खेलेका छन्।
अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा ८० हजारभन्दा बढी दर्शकमाझ सम्पन्न खेलमा मोरक्कोले पहिलो अग्रता लिएको थियो। खेलको २१औँ मिनेटमा ब्राहिम डियाजको उत्कृष्ट पासमा इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई १–० को अग्रता दिलाएका थिए।
अग्रता लिएपछि उत्साहित देखिएको मोरक्कोले तीव्र प्रतिआक्रमणमार्फत ब्राजिललाई दबाबमा राखेको थियो। तर खेलको ३२औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिललाई खेलमा फर्काए। उनको बराबरी गोलसँगै रंगशालाको माहोल थप रोमाञ्चक बनेको थियो।
दोस्रो हाफमा दुवै टोलीले जितका लागि आक्रामक खेल प्रदर्शन गरे पनि थप गोल निस्कन सकेन। अन्ततः खेल १–१ को बराबरीमा सकिँदा दुवै टोलीले एक–एक अंक बाँडे।
विश्व फुटबलका दुई शक्तिशाली टोलीबीचको यो प्रतिस्पर्धा विश्वकपकै अहिलेसम्मको सर्वाधिक रोमाञ्चक खेलमध्ये एकका रूपमा हेरिएको छ। बराबरीसँगै ब्राजिल र मोरक्कोले प्रतियोगिताको सुरुआतमै महत्वपूर्ण अंक सुरक्षित गरेका छन्।




