काठमाडौं, असार १ । शान्ति, दयाभाव र करुणाको सन्देश प्रवाह गर्दै विभिन्न देशमा पदयात्रा गरिरहेको भियतनामी बौद्ध भिक्षुहरूको टोली सोमबार काठमाडौं आइपुगेको छ।

भियतनामी बौद्ध भिक्षु पन्नाकारा को नेतृत्वमा रहेको टोलीसँग विश्वभर चर्चा कमाएको ‘आलोक’ नामक कुकुर पनि रहेको छ। टोलीको नेपाल आगमनले बौद्ध समुदाय तथा शान्ति अभियन्ताहरूमा विशेष उत्साह थपेको छ।

काठमाडौं बसाइका क्रममा टोलीले बौद्धनाथ स्तूप, स्वयम्भूनाथ स्तूप लगायतका प्रमुख बौद्ध तीर्थस्थलहरूको दर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

त्यसैगरी टोलीले रामचन्द्र पौडेल सँग शिष्टाचार भेटघाट गर्ने कार्यसूची समेत तय भएको बताइएको छ।

विश्वभर शान्ति, सहअस्तित्व र करुणाको सन्देश फैलाउँदै आएको उक्त टोलीको नेपाल भ्रमणलाई आध्यात्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिएको छ।