काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेल सम्पन्न भएसँगै प्रतियोगिता थप रोमाञ्चक बनेको छ। पहिलो चरणमा १५ टोलीले जित निकाल्दै महत्वपूर्ण तीन अंक जोड्दा १५ टोली पराजित भएका छन्। १८ टोलीले भने बराबरी खेल्दै समान एक–एक अंक बाँडेका छन्।

समूह ‘ए’ मा मेक्सिको र दक्षिण कोरियाले विजयी सुरुआत गरेका छन्। समूह ‘डी’ मा आयोजकमध्येको एक अमेरिका र अस्ट्रेलियाले जित हात पारेका छन् भने समूह ‘ई’ मा जर्मनी र आइभोरी कोष्ट सफल देखिएका छन्।

समूह ‘आई’ मा नर्वे र फ्रान्सले सुखद सुरुआत गर्दा समूह ‘जे’ मा साविक विजेता अर्जेन्टिनाले आफ्नो प्रभाव कायम राखेको छ। त्यस्तै समूह ‘एल’ मा इङ्गल्याण्ड र घानाले विजयी सुरुआत गरेका छन्।

यस विश्वकपका केही समूहहरू अत्यन्त प्रतिस्पर्धात्मक देखिएका छन्। समूह ‘बी’, ‘जी’ र ‘एच’ का सबै खेल बराबरीमा टुंगिएपछि ती समूहका चारै टोलीले समान एक–एक अंक बाँड्न सफल भएका छन्। यसले आगामी खेलहरूलाई थप रोचक बनाउने संकेत दिएको छ।

व्यक्तिगत प्रदर्शनतर्फ अर्जेन्टिनाका कप्तान लिओनेल मेसी सर्वाधिक चर्चामा छन्। अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै उनले तीन गोलसहित गोलकर्ताको सूचीमा शीर्ष स्थान बनाएका छन्। जारी विश्वकपमा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी समेत बनेका छन्।

मेसीपछि फ्रान्सका किलियन एमबाप्पे, इङ्गल्याण्डका ह्यारी केन, नर्वेका अर्लिङ हालान्ड, जर्मनीका काई हाभर्ट्ज, न्यूजील्याण्डका एलिया जस्ट, स्वीडेनका यासिन अयारी तथा अमेरिकाका फोलारिन बालोगुनले समान दुई–दुई गोल गरेका छन्।

पहिलो चरण समाप्त भएसँगै उपाधि दाबेदार टोलीहरूले आफ्नो क्षमता देखाएका छन् भने केही अप्रत्याशित नतिजाले प्रतियोगितालाई अझ खुला र रोमाञ्चक बनाएको छ। अब दोस्रो चरणका खेलहरूमा नकआउट यात्राको आधार तय हुने भएकाले प्रतिस्पर्धा थप तीव्र हुने अपेक्षा गरिएको छ।