काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फेरि एकपटक विश्व फुटबलमा नयाँ इतिहास रचेका छन्। विश्वकपमा आफ्नो १७औँ गोल गर्दै उनले जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान तोडेका हुन्।

समूह ‘जे’ अन्तर्गत अस्ट्रियाविरुद्धको खेलमा ३८औँ मिनेटमा गोल गर्दै ३८ वर्षीय मेसी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बने। यसअघि पेनाल्टीमा चुकेका मेसीले टोलीलाई अग्रता दिलाउँदै व्यक्तिगत रूपमा पनि नयाँ कीर्तिमान कायम गरे।

छ वटा विश्वकप खेलिसकेका मेसीले सन् २००६ देखि सुरु भएको आफ्नो विश्वकप यात्रामा लगातार नयाँ उपलब्धि थपिरहेका छन्। गत साता अल्जेरियाविरुद्ध ह्याट्रिक गरेपछि क्लोजको कीर्तिमान बराबरी गरेका उनले अब एक्लै शीर्ष स्थान ओगटेका छन्।

हाल इन्टर मियामीबाट व्यावसायिक फुटबल खेलिरहेका मेसीले चार वर्षअघि अर्जेन्टिनालाई विश्वकप जिताएका थिए। यसपटक पनि उनी टोलीको उपाधि रक्षा अभियानका प्रमुख आधार बनेका छन्।

विश्वकपका सर्वाधिक गोलकर्ताको सूचीमा मेसीपछि क्लोज १६ गोलसहित दोस्रो, ब्राजिलका महान् स्ट्राइकर रोनाल्डो १५ गोलसहित तेस्रो स्थानमा छन्। यस्तै, जर्मनीका गर्ड मुलर र फ्रान्सका किलियन एम्बाप्पे समान १४ गोलसहित सूचिमा रहेका छन्।