भोजपुर, असार १३ — भोजपुरको टेम्केमैयुङ गाउँपालिका मा दुईदिने ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। टेम्केमैयुङ ब्याडमिन्टन क्लब को आयोजनामा तथा गाउँपालिकाको प्रायोजनमा सञ्चालित प्रतियोगिताको शनिबार एक समारोहका बीच उद्घाटन गरिएको हो।

प्रतियोगिताको उद्घाटन कैलाश कुमार आले ले गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले खेलकुदले स्वस्थ, अनुशासित र जिम्मेवार समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। स्थानीय तहले खेल पूर्वाधार विस्तार, प्रतिभा पहिचान र युवाको क्षमता अभिवृद्धिमा थप लगानी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रमका विशेष अतिथि तथा सरोज बस्नेत ले खेलकुदलाई पर्यटनसँग जोडेर स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सकिने धारणा राख्नुभयो। खेल पर्यटनमार्फत टेम्केमैयुङको प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई राष्ट्रिय स्तरमा परिचित गराउन सकिने उहाँको भनाइ थियो।

त्यसैगरी गाउँपालिका उपाध्यक्ष रमादेवी राई ले खेलकुदले स्वास्थ्य, आत्मविश्वास, अनुशासन र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै महिला तथा युवाको सहभागिता थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

आयोजक क्लबका अध्यक्ष पारस मुकारुङ का अनुसार प्रतियोगितामा शिक्षक तथा कर्मचारीतर्फ २० टिम, खुला ‘बी’ डिभिजनतर्फ ३१ टिम र खुला महिलातर्फ ३ टिम गरी कुल ५४ टिमको सहभागिता रहेको छ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीलाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।