चिनियाँ वाणिज्य उपमन्त्री यान दोङ नेपाल भ्रमणमा
२०८३ असार २१, आईतवार १५:४५
काठमाडौं, असार २१ विराटपाटी, चीनका वाणिज्य उपमन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता यान दोङ सोमबार नेपाल भ्रमणमा आउने भएका छन्। नेपाल–चीनबीच आर्थिक तथा व्यापारिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले हुन लागेको नेपाल–चीन संयुक्त आर्थिक तथा व्यापार समितिको बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन्।
बैठकमा नेपालको तर्फबाट अर्थ सचिव र चीनको तर्फबाट उपमन्त्री यान दोङले नेतृत्व गर्ने कार्यक्रम तय भएको छ। छलफलमा द्विपक्षीय व्यापार विस्तार, आर्थिक तथा प्राविधिक सहयोग, पूर्वाधार विकास, सडक सञ्जाल, कनेक्टिभिटी र लगानीका विषय प्राथमिकताका साथ उठाइने जनाइएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालको हालै सम्पन्न चीन भ्रमणपछि हुन लागेको यो पहिलो उच्चस्तरीय चिनियाँ भ्रमण भएकाले यसलाई दुई देशबीचको सम्बन्धका दृष्टिले महत्त्वपूर्ण मानिएको छ। भ्रमणका क्रममा उपमन्त्री यानले अर्थमन्त्री स्वर्णिम वाग्ले लगायत नेपाल सरकारका उच्च अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ।
यसैबीच, तिब्बती आध्यात्मिक गुरु दलाई लामाको ९१औँ जन्मजयन्तीको अवसरसँग भ्रमणको समय जुधेकाले काठमाडौंमा सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाइएको सरकारी स्रोतले जनाएको छ। नेपालले लामो समयदेखि ‘एक चीन नीति’प्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै आएको सन्दर्भमा भ्रमणलाई कूटनीतिक रूपमा समेत चासोका साथ हेरिएको छ।
यता, सोमबार नै एसियाली विकास बैंक (ADB) का अध्यक्ष मासात्सुगु कान्डा पनि नेपाल आउने कार्यक्रम रहेकाले काठमाडौंमा उच्चस्तरीय कूटनीतिक गतिविधि थप बढ्ने अपेक्षा गरिएको छ।




