नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता
२०८३ असार २५, बिहीबार १४:०६
निशा मेहता र नेपालका लागि ड्याग्नी म्योस बीच बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
भेटका क्रममा नेपाल र नर्वे बीचको द्विपक्षीय सम्बन्ध तथा स्वास्थ्य क्षेत्रमा जारी सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।
छलफलका क्रममा नर्वे सरकारको सहयोगमा नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य सूचना प्रणालीको विकास, मानसिक स्वास्थ्य सेवा विस्तार, स्वास्थ्य शिक्षा तथा अनुसन्धान प्रवर्द्धन, मातृ तथा बाल स्वास्थ्य सेवा सुधार तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमलगायतका क्षेत्रमा सञ्चालन भइरहेका कार्यक्रमहरूको समीक्षा गरिएको थियो।
मन्त्री मेहताले नेपालको आवश्यकता तथा बढ्दो रोगको भारलाई ध्यानमा राख्दै स्वास्थ्य पूर्वाधार विकास, स्वास्थ्य सेवाको डिजिटाइजेशन, जलवायु परिवर्तन र जनस्वास्थ्य, नसर्ने रोग नियन्त्रण, मानसिक स्वास्थ्य सेवा सुदृढीकरण, स्वास्थ्य पर्यटन प्रवर्द्धन तथा जडीबुटी क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले यी क्षेत्रमा नर्वेसँग थप सहकार्यको अपेक्षा रहेको उल्लेख गर्नुभयो।
राजदूत म्योसले नर्वे सरकारले नेपाल सरकारका विकास प्राथमिकताअनुसार स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा आफ्नो सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, नेपालसँग थप सहकार्यका कार्यक्रमहरू अघि बढाउने तयारी भइरहेको जानकारी पनि दिनुभयो।
नेपाल र नर्वेबीच स्वास्थ्य, शिक्षा तथा दिगो विकासका विविध क्षेत्रमा लामो समयदेखि सहकार्य हुँदै आएको छ।




