विश्वकपमा एम्बाप्पेको ऐतिहासिक कीर्तिमान : २० खेलमा २० गोल
२०८३ असार २६, शुक्रबार ०९:४९
काठमाडौँ । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेले फिफा विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्। मोरक्कोविरुद्धको क्वाटरफाइनल खेलमा गोल गर्दै उनले विश्वकपमा आफ्नो व्यक्तिगत गोल संख्या २० पुर्याएका हुन्।
विशेष कुरा के छ भने उनले यो उपलब्धि केवल २० खेल खेल्दै हासिल गरेका छन्। यससँगै एम्बाप्पे विश्वकप इतिहासमै सबैभन्दा कम खेलमा २० गोल पूरा गर्ने खेलाडी बनेका छन्।
अमेरिकामा जारी विश्वकप २०२६ मा एम्बाप्पे उत्कृष्ट लयमा देखिएका छन्। उनले हालसम्म ६ खेलमा ८ गोल र ३ गोलका अवसर सिर्जना गरेका छन्। यही प्रदर्शनका कारण उनी प्रतियोगिताका सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहेका छन्।
अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले पनि जारी विश्वकपमा ८ गोल गरेका छन्। तर गोलका अवसर सिर्जना गर्ने तथ्यांकमा भने एम्बाप्पे अगाडि छन्। मेसीले ५ खेलमा ८ गोलसँगै १ गोलका लागि सहयोग गरेका छन्।
एम्बाप्पेको उत्कृष्ट प्रदर्शनकै बलमा फ्रान्स लगातार तेस्रो पटक विश्वकपको फाइनल नजिक पुगेको छ। क्वाटरफाइनलमा मोरक्कोलाई २–० गोलअन्तरले पराजित गर्दै साविक विजेता फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो।
फ्रान्सको जितमा किलियन एम्बाप्पे र ओसमान डेम्बेलेको गोल निर्णायक बने। उनीहरूको प्रभावशाली प्रदर्शनले फ्रान्सको उपाधि रक्षा अभियानलाई थप मजबुत बनाएको छ।




