क्यान्सरलाई जितेकी डली गुरुङ बनिन् ‘मिसेस नेपाल युनिभर्स २०२६
२०८३ श्रावण ६, बुधबार २१:०६
काठमाडौं । मोडल तथा सामाजिक अभियन्ता डली गुरुङ याक्थुम्बा ‘मिसेस नेपाल युनिभर्स २०२६’ को उपाधि जित्न सफल भएकी छन्। ललितपुरको झम्सिखेलमा आयोजित पाँचौं संस्करणको ग्रान्ड फिनालेमा उनी विजेता घोषित भएकी हुन्।
उपाधिसँगै डलीले आगामी अक्टोबरमा आयोजना हुने ‘मिसेस युनिभर्स २०२६’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छन्।
कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य र ‘मिसेस नेपाल युनिभर्स’की राष्ट्रिय निर्देशक मनिषा डंगोल श्रेष्ठ ले संयुक्त रूपमा उनलाई विजेताको ताज पहिर्याएका थिए।
तेस्रो चरणको क्यान्सरलाई पराजित गरेर जीवनमा नयाँ ऊर्जा सिर्जना गरेकी डली सामाजिक अभियन्ताका रूपमा पनि परिचित छिन्। नेपाली विज्ञापन तथा फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय उनी नेपालकै पहिलो टेलिभिजन भिडियो विज्ञापनमा देखिएकी भिजुअल मोडलका रूपमा समेत चिनिन्छिन्।




