प्रधानमन्त्री बालेनले आज चिया उद्योगीसँग छलफल गर्दै, निर्यात संकट समाधानमा पहल
२०८३ श्रावण ७, बिहीबार ०९:१०
काठमाडौं, साउन ७ । प्रधानमन्त्री बालेन शाहले आज नेपाली चिया उद्योगका प्रतिनिधिहरूसँग भेटवार्ता गर्दै उद्योगले सामना गरिरहेका समस्या र सम्भावित समाधानबारे विस्तृत छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री कार्यालयका अनुसार छलफलमा अर्गानिक एसोसिएसन अफ नेपाल, गोर्खा टी–स्टेट, हिमालयन सांग्रिला चिया उद्योग, अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्री लगायतका उद्योगी तथा प्रतिनिधिहरू सहभागी हुनेछन्।
हाल भारतले लागू गरेको नयाँ गुणस्तर परीक्षण प्रणालीका कारण नेपाली चियाको निर्यात करिब दुई महिनासम्म अवरुद्ध हुँदा इलाम र झापाका धेरै चिया उद्योग प्रभावित भएका थिए। उद्योग बन्द हुँदा हजारौं कामदारको रोजगारी र किसानको आम्दानीमा समेत असर परेको थियो।
आजको बैठकमा चिया निर्यात सहज बनाउने, उद्योगीका समस्या समाधान गर्ने र सरकारको तर्फबाट आवश्यक सहजीकरणका उपायबारे छलफल हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री बालेन शाहले यसअघि पनि उद्योग, व्यापार, हस्तकला, निर्माण, सेयर बजार, फुटवेयर तथा अन्य निजी क्षेत्रका प्रतिनिधिसँग निरन्तर संवाद गर्दै व्यवसायिक वातावरण सुधारका विषयमा सुझाव लिँदै आएका छन्।




