कुनै समय कच्चा पदार्थ अभाव, कमजोर व्यवस्थापन र आन्तरिक समस्याले संकटमा परेको नेपालको सरकारी आयुर्वेद औषधि उत्पादक संस्था सिंहदरबार वैद्यखाना विकास समितिले उल्लेखनीय पुनरागमन गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा करिब २ करोड ९० लाख रुपैयाँमा सीमित कारोबार गरेको वैद्यखानाले आर्थिक वर्ष २०८२/८३ मा १४ करोड रुपैयाँ बराबरको औषधि उत्पादन तथा बिक्री गर्दै नयाँ इतिहास रचेको छ।

वैद्यखानाले एकै आर्थिक वर्षमा १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री गरेको जनाएको छ। संस्थाले नेपाल सरकारका निःशुल्क औषधि कार्यक्रम, सरकारी अस्पतालका फार्मेसी, जी-टु-जी प्रणाली तथा देशभरका थोक विक्रेतामार्फत औषधि आपूर्ति विस्तार गरेपछि कारोबारमा उल्लेखनीय वृद्धि भएको हो।

कार्यकारी निर्देशक डा. प्रदीप केसीका अनुसार करिब ८–९ करोड रुपैयाँका औषधि सरकारी अस्पताल, स्थानीय तह तथा सरकारी निकायमा आपूर्ति गरिएको छ भने थोक विक्रेतामार्फत साढे तीन करोड रुपैयाँभन्दा बढी र सरकारी अस्पतालका सःशुल्क फार्मेसीमार्फत डेढ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

उनका अनुसार विगतमा उत्पादनमा देखिएका ढिलासुस्ती, आपूर्ति व्यवस्थाको कमजोरी, कमिसनमुखी प्रवृत्ति तथा कर्मचारी निष्क्रियतालाई सुधार गर्दै अहिले वैद्यखानामा वर्षभर निरन्तर उत्पादन भइरहेको छ। कर्मचारीको कार्यउत्साह बढेको र मागअनुसार उत्पादन गर्ने प्रणाली अपनाइएकाले औषधिको अभाव तथा म्याद सकिने जोखिमसमेत घटेको उनले बताए।

शिलाजित, च्यवनप्राशलगायत बढी माग हुने उत्पादनको आपूर्ति ९० देखि ९५ प्रतिशतसम्म पूरा गर्न सफल भएको वैद्यखानाले जनाएको छ।

चालु आर्थिक वर्षका लागि संस्थाले २० देखि २५ करोड रुपैयाँसम्म कारोबार गर्ने लक्ष्य निर्धारण गरेको छ। उत्पादन क्षमता विस्तार, जीएमपी मापदण्ड कार्यान्वयन तथा नयाँ उपकरण जडानपछि यो लक्ष्य हासिल गर्न सकिने विश्वास व्यवस्थापनको छ।

यद्यपि दीर्घकालीन रूपमा स्थायी जनशक्तिको अभाव, सरकारी दरबन्दी नहुनु र भविष्यमा पूर्वाधार विस्तारका लागि पर्याप्त स्थानको आवश्यकता संस्थाका प्रमुख चुनौतीका रूपमा रहेको डा. केसीले बताएका छन्। उनका अनुसार वैद्यखानाको स्थायित्व सुनिश्चित गर्न सरकारले स्थायी संरचना, जनशक्ति र आवश्यक नीतिगत सहयोग उपलब्ध गराउनुपर्ने आवश्यकता छ।