नेपालको राष्ट्रिय खोप कार्यक्रमका लागि महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ। खोपका लागि विश्वव्यापी साझेदार संस्था गाभी (Gavi) ले नेपालसँग माग गरिएको ३ लाख ८ हजार २७१ अमेरिकी डलर फिर्ता नलिने निर्णय गरेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको पहल, विश्व स्वास्थ्य सभामा भएको उच्चस्तरीय छलफल र त्यसपछिको कूटनीतिक समन्वयपछि गाभीले उक्त रकम फिर्ता नलिई गाभी ६.० अन्तर्गत नेपालले भविष्यमा प्राप्त गर्ने सहयोगबाट समायोजन गर्ने सहमति जनाएको हो।

गाभीले यो निर्णय नेपालका लागि विशेष र एकपटकका लागि गरिएको स्पष्ट गर्दै भविष्यमा यसलाई नजिरका रूपमा नलिइने उल्लेख गरेको छ।

सन् २०१४ देखि नेपाल र गाभीबीचको साझेदारीमार्फत ५५० मिलियन अमेरिकी डलरभन्दा बढी सहयोग प्राप्त भइसकेको छ। यस सहयोगले नियमित खोप कार्यक्रम, नयाँ खोपको विस्तार, कोल्ड चेन प्रणाली, स्वास्थ्यकर्मीको क्षमता विकास तथा कोभिड–१९ विरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन उल्लेखनीय योगदान दिएको छ।

सन् २०२२ मा गरिएको विशेष लेखापरीक्षणपछि उठेका वित्तीय विषयलाई नेपालले आवश्यक कागजात, पुनःपरीक्षण र निरन्तर संवादमार्फत समाधानतर्फ अघि बढाएको थियो। अन्ततः नेपालले प्रस्तुत गरेको सुधार योजना र प्रतिबद्धतालाई स्वीकार गर्दै गाभीले रकम फिर्ता नलिने निर्णय गरेको हो।

यो निर्णयले नेपालको वित्तीय व्यवस्थापनप्रतिको विश्वास, राष्ट्रिय खोप कार्यक्रमको दिगोपन तथा नेपाल–गाभीबीचको दीर्घकालीन साझेदारीलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।